काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान गर्दैछन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्।
भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते दिउँसो ४ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सकै उडान नम्बर ४३४ मार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।




