जुम्ला । वैकल्पिक राजनीतिको नारासहित रास्वपामा सक्रिय रहेकी जुम्ला जिल्ला उपसभापति तारा शाही पुन: नेपाली कांग्रेसमा फर्किएकी छिन्। रास्वपाको दिशाहीन राजनीतिप्रति असन्तुष्टि जनाउँदै उनले चन्दननाथमा आयोजित एक कार्यक्रमका बीच कांग्रेसको झण्डा समातेकी हुन्।
काङ्ग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन्। सो अवसरमा खड्काले भनिन्, “शाहीको आगमन केवल दल परिवर्तन मात्र होइन, वैकल्पिक राजनीतिको दाबी गर्नेहरूको नीतिमाथिको प्रश्न पनि हो।”
स्थानीय राजनीतिमा प्रभावशाली मानिने चन्दननाथ नगरपालिका–५ निवासी शाहीले गन्तव्यविहीन राजनीतिक यात्राभन्दा संगठनात्मक संरचना भएको दल नै उपयुक्त हुने निष्कर्ष निकाल्दै कांग्रेस रोजेकी हुन्। जुम्ला कांग्रेसका उपसभापति कार्मा बुढाले शाहीको पुनरागमनले जिल्लामा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे।




