काठमाडौं, माघ २१ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर आज जापानको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गरेका छन् । टोकियोस्थित नेपाली दूतावासका अनुसार प्रतिनिधिमण्डललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावास प्रमुख हरिहरकान्त पौडेल र जापानको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए।
जापानी सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेल र उच्चस्तरीय प्रतिनिधिमण्डलसहित गत आइतबार नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष समारोहमा भाग लिन टोकियो गएका थिए।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार जापानका सम्राट नारुहितोसँग इम्पेरियल प्यालेसमा शिष्टाचार भेट गरे। भेटका क्रममा उनले नेपालको विकासमा जापानले गरेको सहयोगको प्रशंसा गरेका थिए।
टोकियोस्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गरे। सो क्रममा उनले विदेशमा बस्ने नेपालीहरूले देशको अर्थतन्त्र र सामाजिक विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे। उनले प्रवासमा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई समुन्नत नेपाल निर्माणका लागि प्रयोग गर्न नेपाली समुदायलाई आग्रह गरे। देशमा सुशासनको माग बढिरहेको सन्दर्भमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनले मुलुकमा स्थायित्व र विकासको नयाँ सम्भावना खोल्ने विश्वास उनले व्यक्त गरे।
यसैगरी, राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धलाई ऐतिहासिक क्षणको रूपमा चर्चा गरे। उनले नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संस्थागत सुधार गरिएकाले जापानी लगानीकर्ताहरूलाई आकर्षित गर्न त्यहाँस्थित नेपालीहरूलाई विशेष अनुरोध गरे। जापानी पर्यटकहरूका लागि नेपाल एक आकर्षक गन्तव्य भएको बताउँदै उनले नेपाली समुदायलाई ‘अनौपचारिक राजदूत’का रूपमा भूमिका खेल्न प्रोत्साहन दिए। अन्तमा, उनले नेपालीहरूको पौरख र इमानदारीले जापानमा नेपालको छवि उच्च बनाएको भन्दै खुसी व्यक्त गरे।




