काठमाडौं, माघ २२ । अन्तरिम चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बिहान बालुवाटारमा झण्डै दुई घण्टा लामो भेटवार्ता भएको छ। आगामी फागुन २१ का लागि तय गरिएको आम निर्वाचनको मिति नजिकिँदै गर्दा दुई नेताबीच भएको यो भेटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री कार्कीले हालै नवलपुरमा “निर्वाचन तोकिएकै मितिमा हुने र केही प्राविधिक अवरोध आए तत्काल अर्को पटक गरिने” भनी दिएको अभिव्यक्तिप्रति अध्यक्ष ओलीले चासो राख्नुभएको थियो। जवाफमा प्रधानमन्त्रीले सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
निर्वाचनको माहोल तातिरहेका बेला सामाजिक सञ्जालमा आफू र आफ्नो पार्टी लक्षित गरी भइरहेका गालीगलौज र नियोजित आलोचनाप्रति अध्यक्ष ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ। हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई एकै चरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिनुभएको थियो। सोही सन्दर्भमा ओलीले पनि सुरक्षा र व्यवस्थापकीय पाटोबारे प्रधानमन्त्रीसँग जिज्ञासा राख्नुभएको बुझिएको छ।
जेन-जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको दाबी गरिरहँदा, प्रमुख प्रतिपक्षी दलका नेतासँगको यो संवादले चुनावी वातावरणलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। भेटपछि दुवै पक्षले औपचारिक प्रतिक्रिया नदिए पनि निर्वाचनको सुरक्षा र व्यवस्थापनमा साझा धारणा बनाउने विषयमा छलफल भएको बताइएकाे छ।




