काठमाडौं, माघ २५ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षाअनुसार कांग्रेस नीति र नेतृत्व दुवैमा सच्चिएर आएकाले अब जनताको मन र मत दुवै जित्ने दाबी गर्नुभएको छ।
काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भदौ २३ को ‘जेन-जी’ आन्दोलनले दिएको खबरदारीलाई आत्मसात् गर्दै पार्टीले गगन थापाको नेतृत्वमा कमजोरी स्वीकार गरी रूपान्तरणको बाटो रोजेको बताउनुभयो। विचारका आधारमा कांग्रेस सधैँ नयाँ र गतिशील रहने उल्लेख गर्दै उहाँले पार्टीले गगन थापालाई भावी कार्यकारी नेतृत्वका रूपमा अघि सार्ने निर्णय व्यक्तिको नभई संस्थागत भएको प्रस्ट पार्नुभयो।
आफ्नो चुनावी एजेन्डाबारे चर्चा गर्दै उहाँले कसैलाई गाली गरेर नभई दृष्टिकोण र स्पष्ट योजनाका आधारमा चुनाव जितिने बताउनुभयो। ‘ब्रेन ड्रेन’ जस्ता जटिल समस्या सम्बोधन गर्न १० बुँदे एजेन्डा लिएर आफूहरू जनतामाझ जाने उहाँको भनाइ थियो। पूर्व सांसद तथा स्वास्थ्य मन्त्रीका रूपमा रिङरोड निर्माण, मेलम्ची खानेपानी विस्तार र विष्णुमती करिडोरको पैरवीमा आफूले खेलेको भूमिकाले क्षेत्र नं. ५ का मतदाताको शिर कहिल्यै ननिहुरिने विश्वास दिलाउँदै उहाँले आफ्नो राजनीतिक जीवन र भविष्य यही क्षेत्रमा समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।




