काठमाडौं, माघ २५ । आईसीसी टी-२० विश्वकपअन्तर्गत इङ्ल्यान्डविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै दोस्रो सफलता हात पारेको छ।
मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा तीव्र गतिका बलर नन्दन यादवले इङ्ल्यान्डका कप्तान जस बटलरलाई आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका हुन्।
टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग प्रतिष्पर्धा गरिरहेको छ । अहिले इंग्ल्यान्डले टस जितेर ब्याटिङ गरिरहेको छ ।
अनुभवी बलर सोमपाल कामीको स्थानमा टोलीमा परेका नन्दनले आफ्नो डेब्यु विश्वकप खेलमै विश्व क्रिकेटका विस्फोटक ब्याटर बटलरलाई विकेटकिपर आसिफ शेखमार्फत क्याच आउट गराए। यसअघि नेपालले पहिलो विकेट लिँदै दुई पटकको विश्वविजेता इङ्ल्यान्डमाथि दबाब बनाउन सुरु गरिसकेको थियो।
युएई र क्यानाडालाई अभ्यास खेलमा हराएको उच्च मनोबलका साथ तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले आज बलियो ब्याटिङ लाइनअप भएको इङ्ल्यान्डविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ।




