काठमाडाैं, माघ २७ । निर्वाचनको तयारी तीव्र भएसँगै जिल्ला प्रशासन कार्यालय, नवलपरासीले राजनीतिक दलका गतिविधिहरूको निगरानी बढाएको छ।
यसै सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहभागी हुने एक कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन हुन सक्ने भन्दै प्रशासनले सचेत गराएको छ। रास्वपाद्वारा आज जिल्लामा आयोजना गर्न लागिएको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ लाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो।
सूचनामार्फत राजनीतिक गतिविधिहरूलाई निर्वाचन आचारसंहिताको सीमाभित्रै रहेर सञ्चालन गर्न निर्देशन दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
निर्वाचन आयोगले गत माघ १४ गतेदेखि देशभर निर्वाचन आचारसंहिता, २०८२ लागू गरेसँगै प्रशासनले राजनीतिक दलहरूलाई नियम पालना गराउन सक्रियता बढाएको हो।




