दाङ, माघ २८ । रुकुम पूर्वबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको जिप सल्यानको कपुरकोटमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आज बिहान सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला स्थित सडकखण्डमा ज १ झ ५६६१ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी जिप चालक रुकुम पूर्व, सिस्ने गाउँपालिकाका ३४ वर्षीय विजय विकको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले पुष्टि गरेको छ ।
जिपमा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा एक महिला, दुई बालक रहेका छन् ।
घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




