काठमाडौं, माघ २८ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्री र क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग काठमाडौँमा विशेष छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाली कांग्रेस गोरखा-काठमाडौं सम्पर्क समिति र नेविसंघको संयुक्त आयोजनामा फागुन २ गते शनिबार दिउँसो २ बजे स्वयम्भूस्थित बुद्ध पार्टी प्यालेसमा हुने उक्त कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले प्रमुख सम्बोधन गर्ने र महामन्त्री प्रदीप पौडेलले विशिष्ट अतिथिको रूपमा धारणा राख्ने तय भएको छ।
निर्वाचनको रणनीति, संगठन सुदृढीकरण र मतदाता संवादका विषयमा केन्द्रित रहने यस कार्यक्रममा गोरखा घर भई काठमाडौँमा विभिन्न पेसा, व्यवसाय वा अध्ययनमा संलग्न पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ।
सम्पर्क समितिका सभापति जनार्दन अर्यालका अनुसार गोरखाका दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउने चुनावी अभियानलाई थप सशक्त बनाउन यो भेला आयोजना गरिएको हो।




