काठमाडौं, माघ २९ । आईसीसी टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रन बनाउँदै अलआउट भयो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने आसिफ शेखले २०, दीपेन्द्र सिंह ऐरीले १७ र कप्तान रोहित पौडेलले १४ रनको योगदान दिए। ओपनर कुशल भुर्तेल मात्र ५ रनमा आउट भए भने अन्य ब्याट्सम्यानहरूले पनि सस्तोमै विकेट गुमाए।
इटालीका बलर क्रिसन कालुगामागेले घातक बलिङ गर्दै ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए। त्यस्तै, बेन मानेन्टीले २ विकेट झार्दा अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहले १–१ विकेट लिए।
वानखेडेको पिचमा यो लक्ष्य सानो देखिए पनि नेपाली बलरहरूले कस्तो प्रदर्शन गर्छन् भन्नेमा खेलको नतिजा निर्भर रहनेछ।




