काठमाडौं, फागुन १ । आज फेब्रुअरी १३ तारिख, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा विश्वभरि विभिन्न कार्यक्रमका साथ ‘विश्व रेडियो दिवस’ मनाइँदैछ।
द्रूत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने मुख्य उद्देश्यका साथ यस वर्ष विशेष कार्यक्रमहरू प्रसारण भइरहेका छन्। सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रहरूले यो दिवसको प्रस्ताव गरे पनि संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१२ मा अनुमोदन गरेपछि मात्र औपचारिक रूपमा मनाउन प्रारम्भ गरिएको हो।
लोकतान्त्रिक बहस र सामाजिक रूपान्तरणका लागि रेडियो आमसञ्चारको सबैभन्दा शक्तिशाली, भरपर्दो र पहुँचयोग्य माध्यम मानिन्छ। विश्वव्यापी स्तरमा सबैभन्दा बढी श्रोतासम्म पुग्न सफल यस माध्यमले समाजको विविधतालाई समेट्दै राष्ट्रिय एकता कायम गर्न, आवाजविहीनहरूको प्रतिनिधित्व गर्न र सुन्न-सुनाउन अतुलनीय भूमिका निर्वाह गरेको छ। विशेषगरी विपत्तिका बेला र सञ्चारका अन्य साधन नपुगेका दुर्गम ग्रामीण क्षेत्रमा रेडियो सर्वसाधारणको अभिन्न साथी बनेको छ। सूचना, मनोरञ्जन र शिक्षा प्रदान गर्दै सकारात्मक संवादलाई बढावा दिनु नै रेडियोको मुख्य विशेषता र सफलता हो।
नेपालमा पनि रेडियोको आफ्नै ऐतिहासिक महत्व छ । रेडियो नेपाल स्थापना भएपछि देशभर सूचना प्रवाहको सशक्त माध्यमको रूपमा रेडियो विकसित भएको हो। राजनीतिक परिवर्तन, जनआन्दोलन तथा विपद्का समयमा रेडियोले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । विशेषगरी वि.सं. २०७२ को भूकम्पका बेला अन्य सञ्चार माध्यम प्रभावित हुँदा रेडियोमार्फत देशभर सूचना आदान–प्रदान गरी उद्धार तथा राहत कार्यलाई सहज बनाइएको थियो।
रेडियो केवल सूचनाको माध्यम मात्र नभई समाजको ऐना पनि हो। भौगोलिक रूपमा विकट क्षेत्र वा प्राकृतिक विपत्तिका बेला, जहाँ अन्य सञ्चार माध्यम पुग्न सक्दैनन्, त्यहाँ रेडियोले नै जीवनरक्षक सूचना प्रवाह गर्छ। रेडियोले शिक्षा, स्वास्थ्य, र मनोरञ्जन मात्र नभई सकारात्मक संवादलाई बढावा दिएर सामाजिक परिवर्तनमा समेत प्रशंसनीय योगदान दिएको छ। सस्तो, भरपर्दो र मोबाइलमै उपलब्ध हुने भएकाले यो आधुनिक प्रविधिको युगमा पनि उत्तिकै सान्दर्भिक छ।


