काठमाडौं, फागुन ४ । यस वर्षको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा भक्तजनको अभूतपूर्व घुइँचो लागेको छ।
आइतबार सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको विशेष पूजा आज बिहान ६ बजे सम्पन्न भए पनि दर्शनार्थीहरूको चापका कारण मन्दिर र मुख्य सडकबाट प्रवेश गर्ने मूलढोका रातभर खुल्लै राखिएको थियो।
विगतका वर्षहरूमा राति १० बजेपछि लाइन व्यवस्थापन गरी मूलढोका बन्द गर्ने गरिए तापनि यसपालि राति अबेरसम्म पनि भक्तजनको लामो लाइन बाहिरी ढोकासम्मै रहेकाले पशुपति क्षेत्र विकास कोषले ढोका बन्द नगरेको सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो।
शुक्रबारदेखि नै सुरु भएको यो चहलपहल आज बिहानसम्म पनि उत्तिकै कायम रहेको छ भने लाखौँको सङ्ख्यामा आएका भक्तजनले पशुपति क्षेत्रमा पूजा, आराधना र दर्शन गरेका छन्।




