काठमाडौं, फागुन ४ । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने महत्त्वाकांक्षी योजना अघि सारेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने र यसैमार्फत २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
केही समयअघि कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३-४ लाख कमाउन सकिने’ भनी दिएको अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी कुरा नभई ठोस योजनामा आधारित रहेको उनले स्पष्ट पारेका छन्। थापाका अनुसार अघिल्लो सरकारको पालामा भएका साना नीतिगत सुधारले पनि सकारात्मक नतिजा देखाएको सन्दर्भमा अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो छ। उनले करको दरलाई स्थिर बनाउने, कानूनी अड्चनहरू हटाउने र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माण गर्ने प्रस्ताव समेत गरेका छन्।
उनको योजनामा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र कम्तीमा ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य समावेश छ। अब नेपाल फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले सरकारले समेत स्वदेशी प्रविधिलाई प्राथमिकता दिनुपर्ने औंल्याए। स्थिर कर नीति र सार्वजनिक-निजी साझेदारीको मोडल अपनाएमा नेपालले आईसीटी क्षेत्रबाटै आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको दाबी छ।




