ललितपुर, फागुन ४। निर्देशक चन्द्र पन्तको पछिल्लो फिल्म ‘आबाट आमा’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिँदै ७ करोडको आँकडा पार गरेको छ। मात्र १ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण भएको यस फिल्मले प्रदर्शनको १५ औँ दिनसम्म आइपुग्दा आफ्नो लगानी भन्दा कैयौँ गुणा बढी मुनाफा कमाउन सफल भएको छ।
बक्स अफिसको तथ्याङ्क अनुसार शुक्रबार मध्याह्नसम्म फिल्मले नेपालभरबाट ७ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। रात्रीकालीन शोहरूको आम्दानी थपिँदा यो अंक अझै बढ्ने निश्चित छ।
फिल्मले नेपाली बजारमा मात्र नभई विदेशमा पनि बलियो उपस्थिति देखाएको छ। निर्देशक पन्तका अनुसार विदेश बजारबाट फिल्मले हालसम्म १ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ। जसमा अमेरिकाबाट मात्रै १ करोड रुपैयाँ आएको छ भने बाँकी कमाइ अस्ट्रेलिया, कतार, युएई र बहराइनबाट भएको हो। यससँगै फिल्मको विश्वव्यापी ग्रस कलेक्सन ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
यो फिल्म अभिनेता पल शाहका लागि विशेष सावित भएको छ। ‘आबाट आमा’ पल शाहको मुख्य भूमिका रहेको फिल्महरूमध्ये सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। यसअघि उनी सहायक भूमिकामा रहेका ‘शत्रुगते’ ले १२ करोड ६५ लाख र ‘पूजार सार्की’ ले ७ करोड ३८ लाख कमाएका थिए, तर मुख्य नायकका रूपमा यो उनको करियरको ठूलो सफलता हो।
नेपाल र खाडी मुलुकमा सफल प्रदर्शन भइरहेको यो फिल्म शनिबारदेखि क्यानडा र अर्को सातादेखि बेल्जियममा पनि प्रदर्शन हुने तयारीमा छ। आमाको संवेदना र सामाजिक कथावस्तुमा आधारित भएकाले यस फिल्मलाई दर्शकले निकै रुचाएका छन्।




