काठमाडौं, फागुन ६ । शेर्पा समुदायले आफ्नो संस्कृतिक पर्व ग्याल्पो ल्होसार धुमधामका साथ मनाउदै छन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ हुने भएकाले यसलाई शेर्पा समुदायले नयाँ वर्षको रूपमा १५ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन्। यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।
ल्होसारको तयारी स्वरूप केही महिना अघिदेखि नै घर रंगाउने र नयाँ लुगा खरिद गर्ने गरिन्छ भने केही हप्ता अगावै मैदाको पीठोबाट विशेष परिकार ‘खाप्से’ तयार पारिन्छ। साथै, नयाँ बालीको प्रतीकका रूपमा एउटा भाँडामा गहुँको बीउ रोपेर ‘लोफुत’ (जमरा) उमार्ने गरिन्छ, जसलाई नयाँ वर्षको पहिलो दिन पूजा गर्ने चलन छ।
यो पर्वको विशेष पक्ष भनेको ल्होसार सुरु हुनुभन्दा दुई दिन अगाडि गरिने ‘गुथुक’ र सरसफाइ हो। यस दिन घरको भित्री भाग पूर्ण रूपमा सफा गरी फोहोर विसर्जन गरिन्छ, जसलाई ग्रहदशा फालेको मानिन्छ। साँझपख नौ प्रकारका अन्न मिसाइएको ‘गुथुक’ खाइन्छ, जसमा आँटाको डल्लाभित्र सेतो कपडा (कामना पूरा हुने), खुर्सानी (खरो बोली), कोइला (कपट मन), वा नुन (योजना सफल हुने) जस्ता विभिन्न वस्तु राखिएका हुन्छन्। यी वस्तुहरूले व्यक्तिको स्वभाव र भविष्यको संकेत गर्ने जनविश्वास छ।
ल्होसारको पूर्वसन्ध्यामा घरका खम्बा, भित्ता र दलिनहरूमा सेतो पीठो प्रयोग गरेर अष्टमंगलका शुभ चिन्हहरू लेखिन्छ। पूजा कोठा (छ्योखाङ) मा भगवानको तस्बिर अगाडि सातवटा भाँडामा जल, फूल, धूप र भोजनका प्रतीकहरू सजाइन्छ। १२ वटा जनावर र ५ धातु (माटो, आगो, काठ, फलाम र पानी) का आधारमा वर्षको गणना गरिने यो परम्परा शेर्पा, लामा र भोटे समुदायमा विशेष प्रचलित छ। नेपालका अन्य समुदायले मनाउने तोलो र सोनाम ल्होसार भन्दा भिन्न मितिमा मनाइने ग्याल्पो ल्होसारले पारिवारिक मिलन र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउने गर्दछ।




