भरतपुर, फागुन ८ । भरतपुर क्षेत्र नम्बर ३ बाट तारा चिन्ह लिएर उम्मेदवारी दिएकी रेनु दाहालले आफूले चुनाव जितेमा चितवनलाई देशकै राजधानी बनाउने संकल्प व्यक्त गरेकी छन् ।
बिहीबार नेपाली कम्युनिस्ट पार्टी चितवन क्षेत्र नम्बर ३ ले भरतपुर ९ को धारेचोकमा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन्। सो अवसरमा दाहालले आफूले जितेपछि चितवनलाई आर्थिक विकासको केन्द्र, रोजगारीको अवसरको स्थल र व्यापारिक केन्द्र बनाउने अठोट समेत व्यक्त गरेकी छिन्।
भरतपुर महानगरपालिकामा ९ वर्ष मेयरको रूपमा सेवा गर्दा ६ लेन सडक, सिटी हल र १०८८ किलोमिटर सडक कालोपत्रे जस्ता ठूला विकास निर्माणका कामहरू सम्पन्न गरेको चर्चा गर्दै उनले बाँकी रहेका अधुरा योजनाहरू सङ्घीय संसद्मार्फत बजेट विनियोजन गरी पूरा गर्ने प्रतिबद्धता जनाइन्। उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, नारायणी नदीमा सिग्नेचर ब्रिज र ३ अर्बको ढल निकास परियोजनालाई आफ्नो मुख्य प्राथमिकतामा राखेकी छन्।
बजार क्षेत्रको ढललाई दीर्घकालीन समाधान गर्न आफ्नै कार्यकालमा डिपिआर र इआइए पूरा भएको बताउँदै तारा चिन्ह लिएर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी रेनु दाहालले जनताले जिताएर पठाएमा ३ अर्बको ढल निकासको परियोजना पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् । महानगर प्रमुख हुँदा पनि जनताको सुख दुःखको साथी भएर काम गरेको चर्चा गर्दै रेनुले अब पनि जनताको सेवक भएर काम गर्ने अठोट व्यक्त गरेकी छन्।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कलाकार भूमिका गिरी, सरिता गुरुङ, पवित्रा यात्री र नवीन खड्का लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । कलाकारले गुन्जाएको गीत संगीतमा रेनु दाहालसँगै स्थानीय जनताहरू पनि छमछमी नाचेका थिए ।
दाहाल चितवनलाई आर्थिक र व्यापारिक केन्द्रका रूपमा विकास गर्दै जनताको सेवक भएर काम गर्ने अठोटका साथ उनी चुनावी मैदानमा उत्रिएकी हुन्।




