काठमाडौं, फागुन १३ । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले प्रचारप्रसारमा अवरोध पुर्याउने जो-कोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई चुनावी अभियान र प्रचारप्रसार गर्नबाट वञ्चित नगर्न आयोगले सबैमा आग्रह गरेको छ। यदि कसैले उम्मेदवारको प्रचारप्रसारमा बाधा पुर्याएमा वा रोक लगाएमा संघीय कानुन बमोजिम २ लाख रुपैयाँ जरिवाना, ३ वर्ष कैद, वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ।
आयोगले हाल विभिन्न माध्यमबाट चुनावी गतिविधिहरूको सूक्ष्म अनुगमन गरिरहेको र केही स्थानमा दलहरूबीच नै अवरोध सिर्जना भएको उजुरी र समाचार प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा लागू भइसकेको अवस्थामा राजनीतिक दल, उम्मेदवार र तिनका भातृ संगठनहरूले आयोजना गर्ने सभा, जुलुस वा भेलालाई बिथोल्न नपाइने आयोगले स्पष्ट पारेको छ।
साथै, नागरिकको मतदान गर्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्दै कसैलाई पनि भोट हाल्नबाट नरोक्न र निर्वाचनलाई मर्यादित बनाउन आयोगले पुनः स्मरण गराएको छ।




