जनकपुर, फागुन १३ । नेपाली कांग्रेसका पूर्व उपसभापति एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधिले आगामी निर्वाचनपछि कांग्रेसको नेतृत्वमा एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभएको छ। जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निधिले कांग्रेसको नयाँ नेतृत्व र गगन थापाजस्ता युवाहरूको ऊर्जाले पार्टीमा नयाँ उत्साह थपेको दाबी गर्नुभयो।
“हामी बदलियौँ, अब देश बदल्छौँ र सम्हाल्छौँ भन्ने गगन थापाको युवा ऊर्जालाई मैले सकारात्मक रूपमा लिएको छु,” निधिले भन्नुभयो, “यसले देशभर राम्रो प्रभाव पारेको छ र कांग्रेसमा अहिले अभूतपूर्व आन्तरिक एकता देखिएको छ।”
राजनीतिमा अनुभवहीन व्यक्तिहरू आएकोतर्फ संकेत गर्दै निधिले भन्नुभयो, “जसले काम गरेर देखाएकै छैन, उसले नयाँ काम गर्छु भन्दैमा भरोसा गर्ने ठाउँ छैन। नयाँ ड्राइभरले त जतिबेला पनि गाडी दुर्घटना गराइदिन सक्छ। त्यसैले अनुभवी र परीक्षण भइसकेको पार्टी कांग्रेसलाई नै मतदान गर्न म आग्रह गर्दछु।” उहाँले कांग्रेस अन्य दलमा निर्भर भएर सरकार बनाउँदा प्रभावकारी ‘डेलिभरी’ दिन नसक्ने भएकाले एकल बहुमतका लागि रुख छापमा मत माग्नुभयो।
भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि आफूले ‘ई-गभर्नेन्स’ (डिजिटल प्रणाली) लाई प्राथमिकता दिने निधिले बताउनुभयो। “नागरिकता र लाइसेन्सजस्ता सेवा एक घण्टाभित्रै पाउने गरी सरकारी र गैरसरकारी क्षेत्रमा डिजिटल प्रणाली लागू गर्नुपर्छ। यसले पारदर्शिता बढाउँछ र ढिलासुस्ती अन्त्य गर्छ,” उहाँले थप्नुभयो।
धनुषा–३ का लागि निधिका एजेन्डा:
स्वास्थ्य: ग्रामीण क्षेत्रमा तीनवटा प्रसूति र तीनवटा बाल अस्पताल निर्माण गर्ने।
कृषि: जिल्लामै निजी लगानीकर्तालाई आकर्षित गरेर ‘मल कारखाना’ स्थापना गर्ने।
रोजगारी: युवाहरूका लागि लगानीमैत्री वातावरण बनाई स्वदेशमै रोजगारी सिर्जना गर्ने।
पर्यटन र खेलकुद: धार्मिक पर्यटनको विकास गर्ने र रामजानकी स्टेडियमलाई पूर्णता दिई ‘स्पोर्ट्स एकेडेमी’ सञ्चालन गर्ने।
आफू भौतिक पूर्वाधार मन्त्री हुँदा ६ लेनको सडक, राजर्षि जनक विश्वविद्यालय र मधेस प्रदेशको राजधानी जनकपुर बनाउन खेलेको भूमिकालाई नै जनताले आफ्नो जितको मुख्य आधार मानेको निधिको दाबी छ।




