काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिनुभएको छ।
बुधबार बुढानीलकण्ठ नगरपालिका–६ स्थित खड्का टोलमा भएको घरदैलो कार्यक्रमका क्रममा कलाकार शाहले पौडेलसँग समसामयिक विषयमा कुराकानी गर्दै ‘अल द बेस्ट’ भन्नुभएको हो। चुनावी अभियानअन्तर्गत पौडेलले बुधबार बुढानीलकण्ठका भद्रकाली, इटालीटार, खड्का गाउँ, चपली र कार्की गाउँलगायतका विभिन्न क्षेत्रमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।
घरदैलोका क्रममा मतदाताहरूले पौडेलले विकास निर्माण र स्वास्थ्यमन्त्रीका रूपमा गरेका सुधारका कार्यहरूको प्रशंसा गर्दै जितको शुभकामना दिएका थिए। मतदाताको उत्साहलाई सम्बोधन गर्दै पौडेलले आफूले विगतमा इमान्दारिताका साथ क्षेत्र र राष्ट्रिय मुद्दाहरूमा सक्रिय भूमिका खेलेको उल्लेख गर्नुभयो।
उहाँले अलपत्र परेको चक्रपथ (रिङरोड) विस्तारलाई गति दिने, मेलम्ची खानेपानीको सुधार, विष्णुमती करिडोरको व्यवस्थापन र स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। आगामी दिनमा पनि क्षेत्रको विकास र राष्ट्रिय समृद्धिका लागि इमान्दारिताका साथ लागिपर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।




