पोखरा, फागुन १५ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने भन्दै अनुभवी नेतृत्वको आवश्यकतामा जोड दिएका छन्।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफूले सात वर्षदेखि सरकार चलाउने स्पष्ट खाका र टिम तयार पारेको दाबी गर्दै सरकारमा गएर सिक्नेहरूलाई नभई काम गर्न तम्तयार कांग्रेसलाई जिम्मा दिन आग्रह गरे। सबै शक्तिलाई समेटेर लैजाने क्षमता कांग्रेसमा मात्रै रहेको उल्लेख गर्दै उनले सुध्रिएर आएको कांग्रेसलाई बहुमत दिन मतदातासँग अपिल गरे।
विशेषगरी भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली आयोग बनाउने घोषणा गर्दै थापाले आफू र निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूको सम्पत्ति छानबिन गरी नयाँ काण्ड हुन नदिने र कानुनी शासन स्थापित गर्ने अठोट व्यक्त गरे।




