भक्तपुर, फागुन १९ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट सशस्त्र प्रहरीको विशेष टोलीले इन्सास राइफल र विभिन्न किसिमका गोलीसहित एक युवकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले गोरखा पालुङटार घर भई भुम्डोल बस्दै आएका ३१ वर्षीय आयन सेढाईलाई नियन्त्रणमा लिएको हो।
सेढाईको साथबाट एक थान इन्सास राइफल, एसएलआरमा लाग्ने ४ राउण्ड गोली, प्लास्टिक राउण्ड, सटगनको गोली, खुकुरी, बन्चरो र सिरिन्जहरू समेत बरामद भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार बरामद गरिएको राइफल र गोली ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएको हुनसक्ने आशंका गरिएको छ। पक्राउ परेका सेढाईलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।




