वीरगञ्ज, फागुन २० । प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा पर्सामा ठूलो सुरक्षा थ्रेट फेला परेको छ। पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीबाट शंकास्पद वस्तु (बम जस्तो देखिने पोका) बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
गएराति बरहनियार चोकमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले चौधरी सवार बा १० च १२५० नम्बरको रातो कार खानतलासी गरेको थियो। जाँचका क्रममा गाडीभित्र खैरो टेपले बेरिएका र तार निकालिएका ४ वटा शंकास्पद पोका फेला परेका हुन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् ।




