चितवन, फागुन २० । चितवन प्रहरीले निर्वाचनको मौन अवधि उल्लंघन गरेको आरोपमा चर्चित टिकटक तथा युट्युबर रतन कार्कीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार, कार्कीले आचारसंहिता विपरीत विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको प्रचार-प्रसार हुने गरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। उनले मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको पक्षमा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
मौन अवधिमा उम्मेदवारको पक्षमा भिडियो सार्वजनिक भएको सूचना प्राप्त हुनासाथ प्रहरीले कार्कीलाई सम्पर्क गरी कार्यालयमा उपस्थित गराएको थियो। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप सोधपुछ र आवश्यक अनुसन्धान भइरहेको छ।




