काठमाडौं, फागुन २७ । बागमती प्रदेशबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने एक्ला सांसद इन्जिनियर मोहन आचार्य बन्नुभएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर कमजोर नतिजा निकालेको कांग्रेसले बागमती प्रदेशमा भने एक सिट मात्रै जित्न सफल भएको हो।
बागमती प्रदेशका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भइरहेका बेला रसुवा जिल्लाबाट इन्जिनियर आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दै तेस्रो पटक सांसदमा निर्वाचित भई ह्याट्रिक गर्नुभएको हो। उहाँका प्रतिस्पर्धी रास्वपाका बसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गर्नुभएको थियो।
बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये ३१ क्षेत्रमा रास्वपा, एक क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी र एक क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। उक्त प्रदेशमा नेकपा (एमाले)ले भने कुनै सिट जित्न सकेन। रसुवाको उत्तरगया गाउँपालिका–स्थित लहरेपौवामा विसं २०३३ सालमा जन्मनुभएका आचार्य विसं २०४८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहनुभएको थियो। उहाँ कांग्रेसको गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो।
आचार्य यसअघि विसं २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भइसकेका छन्। विसं २०७४ मा तत्कालीन नयाँ शक्ति पार्टीसँग र २०७९ मा तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन हुँदा उहाँ निर्वाचित हुनुभएको थियो।
सञ्चारकर्मीसँग कुरा गर्दै सांसद आचार्यले नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको भए अझ कमजोर नतिजा आउने बताउनुभयो। “नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको भए मैले पनि जित्ने अवस्था रहँदैनथ्यो। पार्टीमा आएको परिवर्तनका कारण निर्वाचनमा सहज जित हासिल गर्न सकेँ,” उहाँले भन्नुभयो।
उहाँले आगामी दिनमा आफू र नेपाली कांग्रेसले संसदमा प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताउनुभयो।




