भारत, चैत ४ । भारतको मध्य प्रदेशस्थित इन्दौरमा बुधबार बिहान विद्युतीय कार (इलेक्ट्रिक कार) चार्ज गर्ने क्रममा भएको भीषण आगलागी र विस्फोटमा परी एकै परिवारका सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
इन्दौरको बंगाली चौराहानजिकै रहेको आवासीय क्षेत्रमा बिहान करिब ४ बजे भएको उक्त दुर्घटनामा घरबाहिर चार्जमा राखिएको कारमा सर्ट सर्किट भई आगो सल्किएको थियो। प्रहरी आयुक्त सन्तोषकुमार सिंहका अनुसार कारबाट सुरु भएको आगो केही मिनेटमै घरभित्र फैलिएको थियो, जहाँ ठूलो संख्यामा ग्यास सिलिन्डरहरू भण्डारण गरिएको थियो।
घरमा रहेका करिब १५ वटा सिलिन्डरमध्ये धेरैजसो एकपछि अर्को गर्दै विस्फोट हुँदा घरको एक भाग भत्किएकाले भित्र सुतिरहेका मानिसहरूले भाग्ने मौका समेत पाएनन्। हाल घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।




