काठमाडौं, चैत्र ५ ।नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सोचे जस्तो परिणाम नआएको र आफू समेत पराजित भएको भन्दै थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।
यसअघि काठमाडौँ-४ बाट निरन्तर निर्वाचित हुँदै आएका थापा यस पटक सर्लाही-४ बाट उम्मेदवार बनेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश कुमार सिंहले पराजित गरेका हुन्। थापा माघमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए।
पार्टीका विभिन्न तहका नेताहरूले थापालाई राजीनामा नदिन सुझाव र दबाब दिँदै आए तापनि उनले ‘नैतिक जिम्मेवारी’ भन्दै पद त्याग गर्ने निर्णय गरेका हुन्। उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे आगामी शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले अन्तिम निर्णय लिनेछ।




