काठमाडौं, चैत्र ५ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन बुझाउनुभएको हो।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले जटिल परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अहोरात्र खटिने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सम्बद्ध सबै पक्षलाई धन्यवाद समेत दिनुभयो।
“निर्वाचन आयोगले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छ। यसले निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास बढाउनुका साथै लोकतन्त्रलाई अझ मजबुत बनाएको मैले महसुस गरेको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो। प्रतिवेदन बुझाइसकेसँगै अब नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्नेछ।




