काठमाडौं, चैत १५ । जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको भीषण दमन र मानवीय क्षतिको आरोपमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदैछ।
गत भदौ २३ र २४ गते भएको उक्त प्रदर्शनमा ७६ जनाको मृत्यु र २,४०० भन्दा बढी घाइते भएपछि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दुवै नेतालाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो। नवनिर्वाचित प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले चैत १३ गतेको पहिलो मन्त्रिपरिषद् बैठकमार्फत उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले चैत १४ गते शनिबार दुवै नेतालाई उनीहरूको निवासबाटै नियन्त्रणमा लिएको थियो।
सार्वजनिक बिदाका कारण हिजो अदालत पेश गर्न नसकिएका उनीहरूलाई आज म्याद थपका लागि उपस्थित गराइनेछ, जहाँ अदालतको निर्णयले उनीहरूको हिरासत बस्ने वा रिहा हुने टुङ्गो लगाउनेछ।




