काठमाडौं, चैत्र १९ । निर्वाचनपछिको पहिलो सङ्घीय संसद् अधिवेशन आज दिउँसो २:०० बजेदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आह्वान गर्नुभएको यस अधिवेशनका लागि संसद् सचिवालयले भौतिक र प्राविधिक सम्पूर्ण तयारी पूरा गरिसकेको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टीको सबैभन्दा ठूलो उपस्थिति रहेको छ भने अन्य दलहरूमा नेपाली कांग्रेस (३८), नेकपा एमाले (२५), नेकपा (१७), श्रम संस्कृति पार्टी (७), राप्रपा (५) र एक स्वतन्त्र सांसद रहेका छन्।
संवैधानिक व्यवस्थाअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आह्वान गरिएको यस ऐतिहासिक बैठक प्रतिनिधिसभाका लागि सिंहदरबारस्थित नयाँ भवनको बहुद्देश्यीय कक्षमा र राष्ट्रियसभाका लागि पुरानै कक्षमा सञ्चालन हुनेछ।




