काठमाडौं, चैत्र २५ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको हो।
उच्च स्रोतका अनुसार, विभागले उनीहरूको सम्पत्तिको स्रोत र शुद्धीकरणसम्बन्धी गम्भीर अनुसन्धान गरिरहेको छ। अदालतबाट पक्राउ अनुमति प्राप्त भइसके तापनि देउवा दम्पत्ति हाल नेपालबाहिर रहेका कारण तत्काल नियन्त्रणमा लिन नसकिएको स्रोतले जनाएको छ। उनीहरू स्वदेश फर्किएलगत्तै कानुनी प्रक्रिया अगाडि बढाउने तयारीमा सुरक्षा निकाय र अनुसन्धान विभाग रहेका छन्।
पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारका मुद्दाहरूमा कडाइ भइरहेको छ।




