मुम्बई । भारतीय सङ्गीत जगत्की सबैभन्दा सम्मानित र प्रभावशाली आवाज, आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सास फेरीन्। उनी अप्रिल ११ मा अचानक कार्डियक अरेस्ट भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो, तर चिकित्सकहरूको अथक प्रयासका बाबजुद उनलाई बचाउन सकिएन।
छोरा आनन्दका अनुसार, उनको पार्थिव शरीरलाई भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि लोअर परेलस्थित उनको निवास ‘कासा ग्रान्डे’ मा राखिनेछ। त्यसपछि, साँझ ४ बजे शिवाजी पार्कमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिनेछ।
८ सेप्टेम्बर १९३३ मा जन्मिएकी आशाले बाल्यकालदेखि नै सङ्गीतको कठिन यात्रा सुरु गरेकी थिइन्। आठ दशक लामो करियरमा उनले हिन्दी, मराठी, बङ्गाली र गुजराती लगायतका विभिन्न भाषाहरूमा हजारौँ गीत गाएर कैयौँ पुस्तालाई मन्त्रमुग्ध पारिन्। ‘पिया तु अब तो आजा’, ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’, र ‘इन आँखों की मस्ती’ जस्ता गीतहरूले उनलाई सधैँका लागि अमर बनाएका छन्।
दादासाहेब फाल्के र पद्म विभूषण जस्ता सर्वोच्च सम्मानबाट विभूषित आशाको निधनले सिङ्गो कला संसार स्तब्ध भएको छ। सङ्गीतको आकाशबाट एउटा यस्तो तारा खसेको छ, जसको चमक र गुञ्जनले भारतीय सिनेमालाई सधैँ उज्यालो बनाइरहनेछ।




