काठमाडौं, वैशाख ७ । वित्तीय अनुसन्धानको घेरामा रहेको ‘स्टार माइक्रो इन्स्योरेन्स’ सँग नाम जोडिएपछि गृहमन्त्री सुधन गुरुङ आइतबार राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवास पुग्नुभएको छ। व्यवसायी दीपक भट्टसँगको व्यापारिक सम्बन्ध र कम्पनीमा सेयर रहेको तथ्य बाहिरिएपछि रास्वपाभित्रैबाट उहाँको राजीनामा माग भइरहेका बेला यो भेट भएको हो।
बुढानीलकण्ठ निवासमा भएको दुई घण्टा लामो संवादमा मन्त्री गुरुङले आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री बालेन शाहसँग सभापति लामिछानेको टेलिफोन संवाद समेत गराउनुभएको थियो। मन्त्री गुरुङले दबाब मत्थर पार्न आग्रह गरे पनि लामिछानेले भने सोमबार बस्ने पार्टीको औपचारिक बैठकमा आफ्नो पक्ष राख्न सुझाव दिनुभएको छ। पार्टीभित्रको बढ्दो दबाबका कारण गृहमन्त्री गुरुङको पद संकटमा पर्न सक्ने देखिएको छ।




