काठमाडौं, वैशाख २३ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ। बुधबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान प्रक्रिया जारी रहेको भन्दै म्याद थपको निर्णय गरेको हो।
अदालतको आदेश अनुसार, व्यवसायी भट्टलाई पाँचौँ पटक र अग्रवाललाई छैठौँ पटक म्याद थप गरिएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १७ (४) बमोजिम वैशाख २३ गतेदेखि लागू हुने गरी यो अनुमति प्राप्त भएको हो। उनीहरूमाथि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले विस्तृत छानबिन गरिरहेको छ।




