काठमाडौं, वैशाख २४ । नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ। परिषद्का अध्यक्ष एवं प्रधानमन्त्रीको निर्देशनमा सचिवालयले आज २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गरेको हो।
यस महत्वपूर्ण बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ। न्यायपरिषद्ले नयाँ नेतृत्वका लागि वरिष्ठतम न्यायाधीश एवं कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरिसकेको छ।
आजको बैठकले यी प्रस्तावित नामहरूमध्येबाट एकजनालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने मुख्य कार्यसूची रहेको छ, जसलाई पछि संसदीय सुनुवाइको प्रक्रिया पूरा गरी राष्ट्रपतिद्वारा नियुक्त गरिनेछ।




