काठमाडौं, वैशाख २४ । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। बिहीबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठसहितका पदाधिकारीहरूले पदबहाली गरेका हुन्।
निजी क्षेत्रको मनोबल र नीतिगत सुधार पदबहालीपछि बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको मुख्य प्राथमिकता निजी क्षेत्रको खस्किएको मनोबल उकास्नु रहेको बताउनुभयो। उहाँले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। “निजी क्षेत्रको प्रवर्द्धन र सुरक्षा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको छ, अब यसको पूर्ण कार्यान्वयन हुनुपर्छ,” उहाँले भन्नुभयो।
अर्थतन्त्रको सुस्तता र आगामी बजेट बजारमा माग घटेको र जनताको क्रयशक्ति कमजोर भएको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा पुँजी परिचालन सुस्त रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी बजेटमार्फत सरकारले पुँजी परिचालन बढाउने ठोस कदम चाल्नुपर्ने सुझाव दिनुभयो।
साना तथा मझौला उद्योगको संकट र बैंकिङ प्रणाली अध्यक्ष श्रेष्ठले अहिले साना तथा मझौला उद्योगहरू सबैभन्दा बढी मारमा परेको औँल्याउनुभयो। बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) भए पनि साना उद्योगहरूले आवश्यक कर्जा पाउन नसकेकोमा उहाँले ध्यानाकर्षण गराउनुभयो।
“विगतमा सहकारी क्षेत्रले करिब ६ खर्ब रुपैयाँ पुँजी परिचालन गर्दै आएको थियो, तर सहकारी संकटपछि साना उद्योगमा लगानीको ठूलो अभाव देखिएको छ,” उहाँले भन्नुभयो। अब बैंकहरूले साना तथा मझौला उद्योगमा लगानी विस्तारका लागि स्पष्ट र प्रभावकारी रणनीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।




