काठमाडौं, जेठ १ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक गर्ने कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ।
महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा बिहीबार बसेको बैठकले पार्टीको सदस्य नेटवर्कलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको हो। अब प्रत्येक सदस्यले आफ्नै मोबाइलबाट अनलाइन पोर्टलमा रहेको ‘स्वयं सदस्यता आवेदन फारम’ भरी सदस्यता अद्यावधिक गर्न सक्नेछन्। प्राविधिक समस्या समाधानका लागि एआई सहायता नम्बर ९७०१२५५५५५ र डिजिटल सहायता केन्द्रका नम्बरहरू ९७१२०५६३५१ र ९७१२०५६३५२ उपलब्ध गराइएको छ, जहाँ फोनबाटै प्रश्नावलीको उत्तर दिएर पनि फारम भर्न सकिने व्यवस्था छ।
विदेशस्थित जनसम्पर्क समितिहरूका लागि पनि यो सुविधा खुला गरिएको छ। पार्टी विधान अनुसार तोकिएको समयमा सदस्यता अद्यावधिक नगर्ने र ‘एनसी आईडी’ प्राप्त नगर्ने व्यक्तिले १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने भएकाले समितिले समयमै प्रक्रिया पूरा गर्न मातहतका तहलाई कडा निर्देशन दिएको छ।




