चितवन, जेठ ४ । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रका विद्युत्का पोलहरूमा रहेका अव्यवस्थित तारहरू हटाउन सक्रियता देखाएको छ। महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र सेवा प्रदायक संस्थाहरूबीच भएको छलफलपछि वैशाख २७ गतेदेखि तार व्यवस्थापनको काम तीव्र पारिएको हो।
महानगरका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाहरूले आफ्ना तार आफैँ व्यवस्थापन गरिरहेका छन् भने महानगर प्रहरीले यसमा आवश्यक सहयोग र समन्वय गरिरहेको छ। “महानगरको अगुवाइमा अव्यवस्थित तार हटाएर पोलहरूलाई सुन्दर र व्यवस्थित बनाउने काम भइरहेको छ,” उनले भने।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले तारकै कारण सहर असुरक्षित र कुरूप देखिएकाले यस्तो कदम चालिएको बताए। उनले स्थानीय प्रशासनसहितको बैठकपछि सेवा प्रदायकहरूलाई आ-आफ्नो तार व्यवस्थापन गर्न निर्देशन दिइएको र अटेर गरेमा नगर प्रहरीले नै तार हटाउने चेतावनी समेत दिएका छन्।
हाल सबै सेवा प्रदायक र नगर प्रहरीको समन्वयमा महानगरका विभिन्न क्षेत्रमा पोलहरू व्यवस्थापन गर्ने काम निरन्तर भइरहेको छ।




