काठमाडौं, जेठ ७ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, राप्रपा लगायतका विपक्षी दलहरूले वेल घेराउ र नाराबाजी गरी सदन अवरुद्ध गरेपछि संसद्मा तीव्र तनाव सिर्जना भएको छ।
सो क्रममा सभामुख डीपी अर्यालले संक्षिप्त समय उपलब्ध गराउँदा समेत एमालेका प्रमुख सचेतक ऐन महर र नेकपाका प्रमुख सचेतक युगराज दुलालले बोल्न अस्वीकार गरेपछि सभामुख अर्यालले “मैले समय र माइक नदिँदा पनि लगातार बोल्नु संसदीय मर्यादाभित्र पर्छ र?” भन्दै संसद्मै कडा आक्रोश र असन्तुष्टि व्यक्त गर्नुभयो।
संसद्मा गतिरोध बढेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग विशेष भेटघाट र कार्यव्यवस्था परामर्श समितिको बैठक राखी सदनको कारबाहीलाई पेलेरै अगाडि बढाउनुभएको थियो; जसमा प्रधानमन्त्री शाह उपयुक्त समयमा उपस्थित हुने जानकारी दिँदै विपक्षीको निरन्तर होहल्लाकै बीच प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री सोविता गौतमले ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव संसद्मा पेस गर्नुभएको छ भने विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित नभएसम्म विरोध जारी राख्ने अडान लिएका छन्।




