काठमाडौं, जेठ ८ । देशभरको ट्राफिक व्यवस्थापन तथा समग्र सार्वजनिक यातायात संचालनमा निरन्तर चुनौतीहरू थपिँदै गएकाले यातायात व्यवस्था विभागले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
विभागका निर्देशक मनिराम भुसालद्वारा जारी गरिएको यस सम्बन्धी परिपत्र सातै प्रदेशका सम्बन्धित मन्त्रालयहरू तथा स्थानीय तहहरूमा पठाइसकिएको छ। विभागका अनुसार यो निर्णय इन्धनबाट चल्ने (पेट्रोल/डीजेल) र विद्युतीय (इलेक्ट्रिक) दुवै प्रकारका सार्वजनिक सवारी साधनहरूको हकमा समान रूपमा लागू हुनेछ।
विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा रहेको जनहितका लागि नयाँ सवारी दर्तामा रोक लगाउन सक्ने कानुनी प्रावधानलाई प्रयोग गर्दै यो कदम चालेको स्पष्ट पारेको छ।




