काठमाडौं, जेठ ८ । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै जितका लागि ३ सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १७ रनको विशाल योगफल तयार पार्यो।
टीयू मैदानमा नेपालको ऐतिहासिक रेकर्ड
नेपालले त्रिवि (टीयू) क्रिकेट मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो नै अहिलेसम्मको सर्वाधिक ठूलो योगफल हो। यसअघि नेपालले सन् २०२३ मा ओमान र यूएईविरुद्ध समान ३ सय १० रन बनाएको थियो, जुन कीर्तिपुर मैदानमा नेपालको उच्च स्कोर थियो। समग्र ओडीआई इतिहासमा भने नेपालको उच्च स्कोर ३ सय २१ रन (स्कटल्यान्डविरुद्ध) रहेको छ।
नेपालका लागि मध्यक्रमका ब्याटर डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ८३ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरे। उनी शुभम रन्जानेको बलमा सेहान जयासुरियाद्वारा क्याच आउट हुन पुगेका थिए।
त्यस्तै, आक्रामक ब्याटिङ गर्दै दीपेन्द्र सिंह ऐरीले ५९ रनको अर्धशतकीय योगदान दिए। कप्तान रोहित पौडेलले ४६ र प्रारम्भिक ब्याटर आसिफ शेखले ४३ रन जोडेर नेपाललाई बलियो स्थितिमा पुर्याए। नेपालका लागि कुशल भुर्तेलले २९ र गुलशन झाले १५ रनको योगदान दिएका थिए।
अहिले अमेरिकाले ३ सय १८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङको तयारी गरिरहेको छ।




