चितवन, जेठ ८ । चितवन प्रहरीले ७ वर्षदेखि फरार रहेका एक हत्या आरोपीलाई बाराबाट पक्राउ गरेको छ।
२०७६ साल चैत २३ गते खैरहनी नगरपालिका-९ स्थित नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउन्डभित्र बाराका ४६ वर्षीय सखिचन महराको शव फेला परेको घटनामा संलग्न साविक बतरा गाविसका पुनदेव भन्ने पञ्चदेव महरालाई प्रहरीले पक्राउ गरेको हो।
अदालतबाट २०७६ चैत २५ गते नै पक्राउ अनुमति जारी भए पनि फरार रहँदै आएका महरालाई बाराको फेटा गाउँपालिका-१ त्रिवेणीमा लुकीछिपी बसिरहेको अवस्थामा जेठ ५ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र खैरहनीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। हाल उनलाई इलाका प्रहरी कार्यालय खैरहनीको न्यायिक हिरासतमा राखी चितवन जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।




