काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले जेठ ६ गते बसेको बैठकको निर्णयअनुसार आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
प्रदेश तथा जिल्ला तहका संरचनालाई लक्षित गरी तयार पारिएको सो कार्यतालिकाअनुसार ७७ वटै जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने काम जेठ ७ गतेदेखि १५ गतेसम्म सम्पन्न गरिनेछ भने आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य जेठ ७ देखि १० गतेभित्र पूरा गरिनेछ।
यसैगरी स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र संकलन गरिसक्नुपर्ने, जेठ २५ गतेभित्र महाधिवेशन प्रतिनिधिहरूको नामावली टुङ्गो लगाउनुपर्ने र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन बुझाउने म्याद जेठ ३० गतेसम्म तोकिएको छ। महाधिवेशनमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै जेठ ७ गतेदेखि असार ५ गतेसम्म विद्युतीय मतदान मेसिनको तयारी र छलफलका लागि समय छुट्ट्याइएको छ भने सोही असार ५ गतेभित्रै प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण समेत पेश गरिसक्नुपर्नेछ।
केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी सूचनामा तोकिएको समयसीमा भित्रै सम्पूर्ण संगठनात्मक तथा निर्वाचनसम्बन्धी गतिविधिहरू सम्पन्न गर्नका लागि सबै प्रदेश समितिलाई आ-आफ्नो जिल्ला समितिसँग तीव्र समन्वय गरेर अघि बढ्न निर्देशन दिइएको छ।





