काठमाडौं, जेठ ११ । यस वर्षको गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले टुँडिखेलमा सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई समारोहमा सम्बोधन गर्न औपचारिक सिफारिस गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार संविधानको धारा ६६ को उपधारा (२) उल्लेख गर्दै राष्ट्रपति कार्यालयलाई सम्बोधनको जिम्मेवारी दिन पत्राचार गरिएको हो। गृह मन्त्रालयले भने गणतन्त्र दिवस मूल समारोह समिति प्रधानमन्त्रीको नेतृत्वमा गठन भए पनि कार्यक्रम व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जनाएको छ।
नेपालमा गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको भए पनि यसपटक उक्त अभ्यास परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रपति कार्यालयले पनि प्रधानमन्त्री कार्यालयबाट सिफारिस पत्र प्राप्त भएको पुष्टि गरेको छ।
स्रोतका अनुसार यस निर्णयप्रति राष्ट्रपति रामचन्द्र पौडेल असन्तुष्ट रहेको बताइएको छ।




