काठमाडौं, जेठ १२ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा मंगलबार बिहान काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
दुर्घटना लगतै प्रहरी र एम्बुलेन्सको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएकोमा ३५ जनालाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ। घाइतेहरूमध्ये बर्दियाकी पवित्रा देवकोटा र सुर्खेतका प्रकाश विकको अवस्था गम्भीर रहेको छ भने १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य छ।
चालक डिल्ली प्रसाद दाहाल र सहचालक राजन बुढासहित दुर्घटनामा परेका यात्रुहरू देशका विभिन्न जिल्लाका रहेका छन्। सकुशल रहेका यात्रुहरूलाई गन्तव्यतर्फ पठाइसकिएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।




