काठमाडौं, जेठ १५ । १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नेपाली जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी गरेको र यो राष्ट्र निर्माणको महान् प्रेरणा तथा अभिभारा भएको बताउनुभएको छ।
गणतन्त्रले देशवासीलाई जोड्दै साझा राष्ट्र बनाउने संकल्प अभिप्रेरित गरेको र आफ्नो जाति, भाषा, धर्म, सभ्यता र भूमिको स्वामित्व दिएको उल्लेख गर्दै उहाँले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभयो। प्रधानमन्त्री एवं गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षको अध्यक्षतामा आयोजित उक्त भव्य कार्यक्रममा नेपाली सेनाले राष्ट्राध्यक्षलाई सलामी अर्पण गरेको थियो भने सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो।
राष्ट्रिय झण्डोत्तोलन तथा शान्तिको कामना गर्दै परेवा उडाइएको सो समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगर नगर प्रहरीद्वारा मार्च-पास्टका साथै उपत्यकाका स्थानीय तहहरूले देशको मौलिक कला र संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरेका थिए। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, काठमाडौँका मेयर बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।




