काठमाडौं, जेठ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक शक्ति संघर्षले अन्ततः पार्टीमा ठूलो विभाजनको रूप लिएको छ। पार्टीका महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा केन्द्रीय र प्रादेशिक तहका १८३ जना प्रभावशाली नेताहरूले बिहीबार सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेका मुकुन्दश्याम गिरि, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, र नारायणप्रसाद कोइरालालगायतका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी राप्रपा छोडेका हुन्।
नेतृत्वको कार्यशैली र एजेन्डाको उपेक्षा राजीनामा दिने समूहले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि दललाई स्वेच्छाचारी ढंगले चलाएको र आन्तरिक लोकतन्त्रको घाँटी निमोठेको गम्भीर आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “पार्टीको मूल आदर्श मानिएको राजसंस्था र सैद्धान्तिक एजेन्डाहरूलाई नेतृत्वले सत्ता र शक्तिको सौदावाजीमा ओझेलमा पार्यो, जसका कारण हामी नयाँ राजनीतिक यात्राको निष्कर्षमा पुग्न बाध्य भयौँ।”
लामो समयदेखि राप्रपाभित्र नीतिगत र संगठनात्मक संरचनालाई लिएर विवाद चल्दै आएको थियो। महामन्त्री राणा पक्षले पार्टी सुधार्ने आफ्ना प्रयासहरूमा नेतृत्व नै बाधक बनेको दाबी गरेको छ।
एकै पटक यति ठूलो संख्यामा पदाधिकारी र केन्द्रीय सदस्यहरूले पार्टी छाड्नुलाई राजनीतिक विश्लेषकहरूले राप्रपाको भविष्य र आगामी राजनीतिक यात्राका लागि निकै चुनौतीपूर्ण घटनाका रूपमा हेरेका छन्।




