दाङ, असार ३ । सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक पुरुषले युवतीलाई अपशब्द प्रयोग गर्दै धम्क्याएको तथा हातमा खुकुरी बोकेर कुटपिट गरेको देखिएको थियो।
भिडियोमा युवती भयभीत अवस्थामा देखिएकी छन्। उनले “भयो, अब गर्दिनँ” र “यस्तो नगर्नुस्” भन्दै बारम्बार आग्रह गरिरहेको सुनिन्छ। उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा आवश्यक छानबिन गर्न प्रहरीलाई आग्रह गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले मिति २०८३ असार २ गते रमेश ठाडा मगरलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। पक्राउका क्रममा उनीबाट Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो।




