चितवन, असार ८ । चितवनको उद्योग संघ प्रदर्शनी केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज बिहान ८:३० बजेदेखि बन्दसत्र सुरु भएकाे छ।
कुल ४,२११ जना प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरू सहभागी हुने यस बन्दसत्रमा अनुशासन, आर्थिक, संगठनात्मक, विधान र राजनीतिक प्रतिवेदनहरू पेस तथा अनुमोदन गरिनेछ। पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस र अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरेपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई सुम्पिने कार्यसूची छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार आजै दिउँसो २:०० देखि ४:०० बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरी राति ११:०० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि असार ९ गते मंगलबार बिहान ८:३० देखि दिउँसो ३:०० बजेसम्म १ जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि पहिलो चरणको मतदान हुनेछ, जसको मतपरिणाम मतदान सकिएको दुई घण्टाभित्रै सार्वजनिक गरी दोस्रो चरणको प्रक्रिया अगाडि बढाइने जनाइएको छ।




