काठमाडौं, असार ८ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा आइतबार राति ९:४५ बजे निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित खरेलको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
दिवंगत खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ। पार्टीका पदाधिकारी तथा नेताहरूले खरेलको पार्थिव शरीरमा कांग्रेसको चारतारे झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका छन्। खरेलको आजै दिउँसो १:०० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।




