चितवन, असार १० । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यतिबेला चुनावी रापतापले तातेको छ। पार्टीको नयाँ ९९ सदस्यीय केन्द्रीय समितिमा अटाउनका लागि नेता-कार्यकर्ताबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। निर्वाचन आयोगका अनुसार जम्मा ९९ वटा सिटका लागि ४०० भन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि चुनावी सरगर्मी ह्वात्तै बढेको हो। राति अबेरसम्म मनोनयन दर्ता चलेकाले आयोग यतिबेला उम्मेदवारहरूको प्रारम्भिक सूचीलाई अन्तिम रूप दिन व्यस्त छ।
पार्टीको सर्वोच्च पद सभापतिमा रवि लामिछाने पहिले नै निर्विरोध निर्वाचित भइसकेकाले अब सबैको ध्यान केन्द्रीय सदस्य को-को बन्लान् भन्नेतर्फ सोझिएको छ। चुनावलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन रास्वपाले डिजिटल शैली अपनाएको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन तयार पारिएका छन्, जसमा उम्मेदवारको नामसँगै तस्बिर पनि देखिनेछ। मतदातालाई अलमल नहोस् भनेर ५ वटा मेसिन त नमुना मतदानका लागि मात्रै छुट्याइएको छ।
यस ऐतिहासिक निर्वाचनमा देश-विदेशका गरी करिब ४ हजार प्रतिनिधिले मत हाल्दैछन्। रोचक कुरा के छ भने, प्रवासमा रहेका प्रतिनिधिहरूले नेपाल आउनु नपर्ने गरी आफ्नै मोबाइल एपमार्फत भोट हाल्न सक्ने डिजिटल व्यवस्था मिलाइएको छ। विभिन्न समावेशी क्लस्टरका कारण एक जनालाई भोट हाल्न १५ देखि २० मिनेटसम्म लाग्न सक्ने अनुमान गरिए पनि, प्रविधिको कमालले गर्दा मतदान सकिएको १ देखि २ घण्टाभित्रै परिणाम बाहिर आइसक्नेछ। यसरी चुनिएर आउने ९९ जना भाग्यमानी केन्द्रीय सदस्यहरू मध्येबाटै दोस्रो चरणमा पार्टीका उपसभापति र महामन्त्रीसहितका मुख्य पदाधिकारीहरू चयन गरिनेछ।




